
काठमाण्डु, १७ चैत – यसअघि नै कलिङ भिसा पाइसकेकाहरूले भोलिबाट मलेसियाका लागि श्रम स्वीकृति पाउने भएका छन् ।
यसका लागि वैदेशिक रोजगार विभागले श्रम कार्यालय ताहाचललाई पत्र लेख्दै भोलिदेखि श्रम स्वीकृति दिन पत्राचार गरेको छ ।
नेपाल सरकारको तथ्यांकअनुसार अहिलेसम्म ७ हजार नेपालीले यस्तो भिसा लिएका छन् तर सरकारले श्रम स्वीकृति रोकिराखेकाले जान पाएका थिएनन् ।
वैदेशिक रोजगार विभागले मलेसियन राजदूतावासबाट भिसा स्वीकृत गराउन वैदेशिक रोजगार व्यवसायी संघलाई जिम्मा दिएको छ ।
भोलिदेखि कलिङको लागि खुले पनि नयाँको लागि भने एक महिना लाग्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए ।
सरकारले केही समयभित्रै नयाँ कामदारलाई पनि मलेसिया जान दिने गरी प्रक्रिया अघि बढाउने बताएको छ । मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठाइसकेकाले कामदारको स्वास्थ्य जाँचमा योग्य नयाँ अस्पताल तथा स्वास्थ्य संस्थालाई सूचीकृत हुन सरकारले सूचना जारी गरिसकेको छ ।