पहिलो पटक इन्डियन लिग खेल्न जाँदै सावित्रा र अनिता

काठमाण्डु टुडे २०७६ वैशाख १५ गते १५:२३ मा प्रकाशित

काठमाण्डु,१५ बैशाख – पहिलो पटक नेपाली महिलाले इन्डियन महिला लिग फुटबल प्रतियोगिता खेल्ने भएका छन् । नेपाली महिला फुटबल टोलीका सदस्यहरु सावित्रा भण्डारी र अनिता बस्नेतले पहिलो पटक इन्डियन महिला लिग फुटबल खेल्न लागेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले इन्डियन महिला लिग खेल्न सोमबार भारत प्रस्थान गर्ने दुई खेलााडीलाई बिदाई गरेको छ ।

दुबैले लिगको सेथु क्लबबाट खेल्नेछन् । कुनैपनि नेपाली महिला फुटबल खेलाडीलाई विदेशी व्यवसायिक क्लबले अनुबन्ध गरेको यो पहिलो पटक हो ।

उनीहरुलाई क्लबले यस सिजनका लागि अनुबन्ध गरेको हो । इण्डियन महिला लिगका यस सिजनका खेलहरु मे ५ बाट शुरु हुनेछन् ।

गत सिजनमा सेथु क्लब सेमिफाइनलमा पुगेको थियो । २०१६ बाट सुरु भएको इण्डियन महिला लिग फुटबलमा उद्घाटन संस्करणको विजेता इस्टर्न स्पोर्टिङ यूनियन थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us