
काठमाण्डु, १० जेठ – अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउँदै आएका पत्रकार किशोर पन्थीको पुस्तक ‘कम्पन’को दोश्रो संस्करण सगरमाथामा विमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको विमोचन गरेका हुन् ।
शेर्पाले२३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो कीर्तिमान तोडेर २४औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए । सोही अवसरमा ‘कम्पन’को पनि विमोचन गरेका हुन् ।
गत सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको विमोचन गरेको चलचित्र निर्माता तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए । अधिकारीले पनि सन् २०११ मा सगरमाथामा एक टेलिभिजन विज्ञापन निर्माण गरेका थिए ।
‘कम्पन’ नेपालमा गएको ०७२ को भूकम्प सम्बन्धी लेखिएको पुस्तक हो । त्यसवेला सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको मृत्यु भएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पलसमेत रहेका थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको थियो । पुस्तकभित्र त्यहाँ घटनालाई समेटिएको छ ।