
काठमाण्डु, ३ असार – तापक्रम ६३ डिग्रीसम्म पुगेपछि खाडीका ६ देशले मध्याह्नको समयमा काम गराउन कम्पनीहरूलाई रोक लगाएका छन् ।
बहराइन, कुवेत र ओमनले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय काम गर्न रोक लगाउने निर्णय गरेका हुन् । उनीहरूले निर्णय उल्लंघन गर्ने कम्पनीलाई कारबाही गर्ने जनाएका छन् ।
बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२ः३० देखि ३ः३० सम्म, कतारले ११ः३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२ः३० देखि ३ बजेसम्म काम गराउन रोक लगाएका छन् । खाडीको तापक्रम विगतभन्दा निकै बढेको छ । कुवेतमा अहिलेसम्मकै उच्च ६३ डिग्रीसम्म तापक्रम मापन भएको छ ।
खाडीमा झन्डै १० लाख ७० हजार नेपाली कार्यरत छन् । ती मुलुकका नेपाली दूतावासका अनुसार जुनदेखि अगस्टसम्म नेपाली कामदारको बढी ज्यान जाने गरेको छ ।