
एजेन्सी– लिवियामा हवाई हमलामा परी एक नेपालीको ज्यान गएको छ ।
मृतक सन्तोष श्रेष्ठ भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । यद्यपि उनको नेपालस्थित ठेगाना खुलेको छैन । राजधानी त्रिपोली नजिकै रहेको आप्रवासी हिरासतमा भएको हवाई हमलामा घाइते भएका श्रेष्ठको उपचारका क्रममा निधन भएको हो । त्यहाँ अरु १४ नेपाली रहेको र उनीहरु सकुशल रहेको त्रिपोलीस्थित आफ्ना अधिकारीहरुलाई उद्धेत गर्दै राष्ट्रसंघले जनाएको छ । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संस्था आइओएमले पनि घटनामा श्रेष्ठ मारिएको पुष्टि गरेको छ । श्रेष्ठ कुन प्रयोजनका लागि र कहिले त्रिपोली आएका थिए भन्ने स्पष्ट भएको छैन ।
यसअघि मानव तस्करहरुले इटाली र पुरोयका अन्य विभिन्न मुलुक लैजान नेपाली युवाहरुलाई अवैध रुपमा त्रिपोली पु-याउने गरेका समाचारहरु आएका थिए । यसअघि त्यसै गरी त्रिपोली पुगेका ८ नेपालीलाई टर्की हुँदा स्वदेश फिर्ता गरिएको थियो । पछिल्लो दुई महिनाको अवधिमा मात्र २६ नेपालीलाई उद्धार गरेर नेपाल ल्याइसकिएको छ ।
हमलामा परी अरु १ सय ३० आप्रवासी घाइते भएका छन् ।