दसैँमा धरहरा चढ्न नपाइने, निर्माण कार्य अझै २० प्रतिशत बाँकी

काठमाण्डु टुडे २०७९ असोज ८ गते ६:४६ मा प्रकाशित

काठमाण्डु, ८ असोज– सर्वसाधारणले यसपटकको दसैँमा पनि धरहरा अवलोकन गर्न नपाउने भएका छन् ।

दसैँमा धरहरा खुला गर्ने भनी गत असारमा घोषणा गरिएको थियो । केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन तथा आवास) का प्रमुख कोषनाथ अधिकारीले धरहरा निर्माणको अझै २० प्रतिशत काम बाँकी नै रहेकाले तत्काल सर्वसाधारणका लागि खुला नहुने जानकारी दिए ।

धरहरा वरिपरि पूर्वाधार निर्माणका काम भइरहेका छन् । त्यहाँ गहिरा खाल्डा खनिएका छन् । निर्माण कार्य भइरहेकाले जोखिम हुने हुँदा तत्काल धरहरा खुला गर्न नसकिएको बताउँदै उनले धरहरा कहिलेबाट सर्वसाधारणका लागि खुला गरिनेछ, यसै भन्न नसकिने स्पष्ट गरे ।

धरहरा छेउमा युटिलिटी ब्लक निर्माण भइरहेको छ । ब्लक निर्माणका लागि खन्दा दूरसञ्चार प्राधिकरणका १८ हजार तार भेटिएका छन् । त्यहाँ काम गर्दा एकै पटक १८ हजार टेलिफोन लाइनमा समस्या आउने भएकाले सो ठाउँमा काम अगाडि बढाइएको छैन । त्यस्तै सुन्धारामा पहिलेजस्तै पानीको व्यवस्थापन हुनुपर्ने काम पनि बाँकी छ ।

धरहरा क्षेत्रमा आउने पानी र पानी निकासको काम गरेर मात्रै सुन्धारा क्षेत्रतर्फको काम गर्न काठमाण्डु महानगरपालिकाले पत्राचार गरेको छ । धरहराको उद्घाटन गत २०७८ साल वैशाखमा गरिएको थियो ।

तीन अर्ब ४९ करोड रुपियाँको लागतमा धरहराको पुनःनिर्माण हुँदैछ । एकाइ प्रमुख अधिकारीले धरहरा निर्माणका लागि चौथो पटक म्याद थपिए पनि सो अवधिमा समेत निर्माण सम्पन्न हुन सक्ने अवस्था नरहेको बताए ।

पछिल्लो पटक आगामी पुस मसान्तसम्म म्याद थप गरिएको छ । यसअघि कोभिड–१९ को महामारीको कारण देखाउँदै म्याद थपिएको थियो । गोरखापत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us