
काठमाण्डु, ९ असोज– दलित समुदायकी बालिका माथि जातीय विभेद गरेको तथा शरीर बन्धक बनाउने दम्पतीलाई जिल्ला अदालत रामेछापले जेल सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश इन्दिरा शर्माको इजलासले शुक्रवार जातीय विभेद तथा शरीर बन्धक बनाएको मुद्दामा दोषी ठहर गर्दै जरिवाना र कैद सजाय सुनाएको हो ।
जिल्ला अदालत रामेछापले शरीर बन्धक र जातीय विभेद मुद्दामा मन्थली नगरपालिका–६ भलुवाजोरका ६३ वर्षीय शेरबहादुर नगरकोटी र उनीकी धर्मपत्नी बालकुमारी श्रेष्ठलाई नगद जरिवानासँगै कैद सजाय फैसला भएको जिल्ला अदालत रामेछापका श्रेतेदार राम प्रसाद पौडेलले बताए ।
२०७८ माघमा घरमा कोही नभएको मौका पारेर छिमेकी १२ वर्षीया नेपाली थर भएकी दलित बालिका श्रेष्ठको घरमा पसी २ डाडु दही चोरेर खाएको अभियोगमा श्रेष्ठले बालिकालाई नियन्त्रणमा लिएका थिए । नियन्त्रणमा लिएर श्रेष्ठले आफ्नै घरको थाममा १९ घण्टासम्म दाम्लोले बाँधेर यातना दिएका थिए ।
दही चोरी भएको घटनाभन्दा पनि दलित बालिका घरभित्र पसेको अभियोगमा उनले घर जिम्मा नलिई बालिकालाई नफुकाउने अडान लिएर बसेका थिए । नेपाल समाचारपत्रबाट