
काठमाण्डु, ९ असोज– प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली पछिल्लो समय मधेस दौडाहामा छन् ।
ओलीको मधेस दौडाहाका क्रममा उनले धमाधम मधेसवादी दलका प्रभावशाली नेतालाई एमालेमा भित्र्याउने कामसमेत गरिरहेका छन् ।
पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता, पूर्वमन्त्री, पूर्वसांसद, पूर्वपालिका प्रमुखसहित जिल्लामा शक्तिशाली मानिएका नेतालाई एमालेमा भित्र्याउन ओली सफल देखिएका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा ओलीको बाक्लो आउजाउ भएको देखिन्छ । शनिबार नै धनुषाको तीन कौरियामा पुगेर उनले लोसपाका निवर्तमान सांसद एवं सचेतक उमाशंकर अरगरियालाई एमालेमा प्रवेश गराए ।
त्यसअघि, उनले लोसपा, जसपाका अन्य प्रभावशाली नेतालाई एमालेमा भित्र्याइसकेका छन् । हृदयेश त्रिपाठीको तत्कालीन स्वतन्त्र राजनीतिक समूहबाट सांसद भएका वृजेशकुमार गुप्ता, जसपाका सांसदद्वय अमृता अग्रहरी र रुही नाज एमाले प्रवेश गरिसकेको एमाले स्थायी कमिटी सदस्य प्रभु साहले बताए । ओलीसँगै साहसमेत मधेसवादी दलका नेतालाई एमालेमा भित्र्याउने आन्तरिक रणनीति तय गर्दै अघि बढेको देखिन्छ । राजधानी दैनिकबाट