पाकिस्तानी र चिनियाँलाई सीमामै रोक्न भारतको दबाब

काठमाण्डु टुडे २०७९ असोज १४ गते ७:५५ मा प्रकाशित

काठमाण्डु, १४ असोज– नेपाल–भारत सीमाक्षेत्रबाट पाकिस्तानी र चिनियाँ नागरिक भारत प्रवेश गरेको भन्दै रोक लगाउन भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नेपालसँग आग्रह गरेको छ ।

पाँचदिने नेपाल भ्रमणमा रहेका एसएसबीका महानिर्देशक सुजोयलाल थाउसेनले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालसँगको औपचारिक भेटमा यस्तो आग्रह गरेका हुन् ।

‘पाकिस्तान र चीनका नागरिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध गतिविधि गरी भारततर्फ पस्ने गरेका छन् । उनीहरूलाई भारत छिर्न नदिन सशस्त्र प्रहरी बलको भूमिका हुनुपर्छ’, एसएसबीका महानिर्देशक थाउसेनलाई उद्धृत गर्दै भेटमा सहभागी सशस्त्र प्रहरी बलका एक उच्च अधिकारीले भने ।

नेपाल–भारत सीमा सुरक्षा, व्यवस्थापन र समन्वय बैठकमा पनि एसएसबीका महानिर्देशक थाउसेनले नेपालले तेस्रो मुलुकका नागरिकलाई भारत प्रवेश र उनीहरूका अवैध गतिविधिमा रोक लगाउनुपर्ने प्रस्ताव गरेका थिए । जवाफमा सशस्त्र प्रहरी बलका महानिरीक्षक अर्यालले नेपाली भूमिबाट भारतविरोधी गतिविधि नभएको र तेस्रो मुलुकका मानिस भारततर्फ पनि नपसेको बताएका थिए ।

‘तर भारतीय पक्ष नेपालको भनाइमा सहमत भएको देखिएन, तेस्रो मुलुकका नागरिक नेपालबाट भारततर्फ पसेको देखिएकाले जसरी पनि रोक्नुपर्यो भन्ने आग्रह भयो’, सशस्त्र प्रहरी बलका ती अधिकारीले भने । नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us