
धनगढी, २५ असोज– सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनबाट प्रदेशसभामा दुई सीट मात्र पाएको छ ।
नेकपा एमालेबाट विभाजित भएर नेकपा एकीकृत समाजवादी ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत समाजवादीले गठबन्धनबाट दुईटा मात्र सीट पाएको छ ।
यहाँका नौ जिल्लामा गरी प्रदेश सभामा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा ठूला दल हुँदा पनि एकीकृत समाजवादीको गठबन्धनबाट प्रदेश सभामा कैलाली क्षेत्र नम्बर ४ (ख) र कैलाली क्षेत्र नम्बर–३ (ख) मा मात्रै भाग परेको छ ।
सत्ता गठबन्धनका दलहरूबीच सहमतिअनुसार कैलाली ४ (ख) मा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र कैलाली क्षेत्र नम्बर ३ (ख) मा निवर्तमान अर्थराज्यमन्त्री अमर साउदले उम्मेदवारी दर्ता गराएका छन् । सुदूरपश्चिममा एकीकृत समाजवादी प्रदेशतर्फ २ क्षेत्रमै सीमित भएपछि गठबन्धनमा समस्या भएको छ । राजधानी दैनिकबाट