झोलुङ्गे पुल तर्न २० रुपैयाँ शुल्क

काठमाण्डु टुडे २०७९ असोज ३१ गते ७:०२ मा प्रकाशित

ललितपुर, ३० असोज–सूर्यविनायक नगरपालिकाले खोला नरहेको स्थानमा बनाइएको सार्वजनिक झोलुङ्गे पुल तर्नेसँग शुल्क असुल्दै आएको छ । नगरपालिकाको वडा नम्बर ९ र १० को सिमाना साँगामा बनाइएको झोलुङ्गे पुल तर्न २० रुपैयाँ तिर्नुपर्ने हुन्छ । दुईवटा डाँडालाई जोड्न बनाइएको सो पुल तरेबापत शुल्क लाग्ने विषय अहिले विवादित भएको छ ।

सूर्यविनायक नगरपालिकाले पर्यटकीय गतिविधि बढाउने उद्देश्यले सङ्घीय सरकारको सहयोगमा एक करोड छ लाख रुपैयाँको लागतमा पुल निर्माण गरेको थियो । नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले पर्यटन क्षेत्रको विकासका लागि शुल्क लिने गरिएको तर्क गरे ।
सो क्षेत्रको अवलोकन गर्न सार्वजनिक बिदामा दैनिक हजारौँको सङ्ख्यामा पर्यटक यहाँ आउने गरेका छन् । उनले पर्यटकका लागि थप भौतिक पूर्वाधारको विकास गराउन न्यून शुल्क लिनु परेको बताए । ‘केही समयमै भ्यु प्वाइन्ट, शौचालयलगायतका सुविधा बढाउँदै छौँ’, उनले थपे, ‘नगर कार्यपालिकाको बैठकबाटै पुल तरेबापत शुल्क लिने निर्णयपछि बोलपत्र आह्वान गरेर वार्षिक ३६ लाख रुपैयाँमा रविचन्द्र कन्स्ट्रक्सनलाई ठेक्का दिइएको छ ।’

पुल निर्माण गरिएको ९ र १० का स्थानीयले पुल प्रयोग गरेबापत शुल्क तिर्नु नपर्ने र सूर्यविनायक नगरपालिकाका बासिन्दालाई ५० प्रतिशत छुट दिइएको छ । सार्वजनिक बिदामा अत्यधिक भीड हुने भएकाले सो भीड व्यवस्थापनका लागि रकम उठाइएको भनाइ नगरपालिकाको छ । गोरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us