बढुवाका प्रतिस्पर्धीको मेरिट लिस्ट बोकेर प्रहरीका एआईजी नेताको घर धाउदै

काठमाण्डु टुडे २०८० वैशाख ७ गते १५:०६ मा प्रकाशित

काठमाण्डु,७ वैशाख– नेपाल प्रहरीको वृत्ति विकास सम्बन्धि काम गर्ने मानवस्रोत विभागका प्रमुख हुन् एआईजी सन्दीप भण्डारी । गत महिना एआईजीमा बढुवा भएका भण्डारीले मानवस्रोत विकास विभागको नेतृत्व सम्हालेको दुई साता पनि भएको छैन । नेकपा एमाले सत्तामा हुँदा आफ्नो ब्याचबाट भण्डारीले एसएसपीमा पहिलो नम्बरमा बाजी मार्दा अहिलेका आईजीपी बसन्त बहादुर कुँवर तेह्रौं बरियतामा धकेलिएका थिए ।

 राजनीतिक परिदृश्य र समयक्रम बदलिदै जादा सरकारले इमानदारीता र व्यावसायिकताको कदर गर्दै डीआईजी र एआईजी बढुवामा वसन्त कुँवरलाई पहिलो नम्बरमा बढुवा गर्दै गत चैत १० मा नेपाल प्रहरीको ३०औं आईजीपीमा नियुक्त ग¥यो।

आईजीपी नियुक्त भएलगत्तै कुँवरले विशेष सक्रियता देखाउदै डीआईजी बरियताको पहिलो नम्बरमा रहेका सन्दीप भण्डारीलाई एआईजीमा बढुवा गरेर मानवस्रोत विकास विभागमा पदस्थापन गराए ।

आफ्नो (१०८औं समूह) ब्याचको प्रहरी निरीक्षक देखि संगै जागीर खाएको साथीलाई मानवस्रोत विकास विभागमा पदस्थापन गराएर राम्रो काम गर्ने अवसर दिलाएका आईजीपी कुँवरलाई अहिले आफ्नै निर्णय गलपासो बन्न पुगेको छ ।

पछिल्लो समय एआईजी भण्डारीले गरेका पदिय मर्यादा विपरितका क्रियाकलापले आईजीपी देखि प्रहरी प्रधान कार्यालयका उच्च अधिकारी नै आजित बनेका छन् ।

एआईजी भण्डारी तत्कालीन एक नम्बर प्रदेश सभा (हाल कोशी प्रदेश सभा) का तत्कालीन सभामुख तथा एमाले नेता प्रदीप कुमार भण्डारीका भाइ हुन् ।

त्यसबेला एमाले सत्तामा रहेको बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निगाहमा एक नम्बर एसएसपीमा बढुवा भएका भण्डारी अहिले एआईजी बरियताको पाँचौ नम्बरमा छन् ।

डीआईजी हुँदा नेपाल प्रहरी शिक्षालय भरतपुरको राम्रोसँग कमान्ड गर्न नसकेको भन्दै बिचैमा प्रधान कार्यालय तानिएका उनी पछिल्लो समय आईजीपी कुँवरलाई नै चुनौती दिदै नेताहरुको घरघरमा धाइरहेको प्रत्यक्षदर्शीहरु बताउछन् ।

आफ्नो डीआईजी बढुवाको समयमा आफ्नो ब्याचको मेरिट लिस्ट बोकेर विभिन्न शक्तिकेन्द्र धाउदै आफ्नो भन्दा बढी प्रतिस्पर्धीहरुको कुरा लगाउदै हिडेका भण्डारी नेपाल प्रहरीमा क्षुद्र र लोभी स्वभावका अधिकृतको रुपमा परिचित छन् ।

पछिल्लो डीआईजी बढुवापछि बढुवा समितिले एसपीबाट एसएसपी बढुवाको तयारी गरिरहेको छ । गृहसचिव अध्यक्षताको एसएसपीको बढुवा समितिमा आईजीपी सदस्य र एआईजी भण्डारी सदस्यसचिव छन् ।

तर एआईजी भण्डारीले पदिय मर्यादा विपरित गोप्य राख्नुपर्ने कागजात बोकेर प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय लगायतका विभिन्न शक्तिकेन्द्र धाइरहेको स्रोतले बतायो ।

’जिम्मेवार पदमा रहेका उहाँले सिटरोल लगायतका गोप्य कागजात बोकेर फलानो एक नम्बरमा एसएसपी हुनुपर्छ, आईजीपीले भनेर मात्र हुन्छ ? म पनि बोर्डको सदस्यसचिव हुँ, मैले भनेको पनि हुनुपर्छ भन्दै हिड्नु भएको छ । हामी त अचम्मित छौँ ।’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले भने । ’

एआईजी जस्तो गरिमामय पदमा आसिन अधिकारीले गोप्य रहनुपर्ने सिटरोल प्रीन्ट गर्दै शक्तिकेन्द्रतिर पुर्याउनु संगठनको लागि राम्रो होईन, यो गैर जिम्मेवारीपनको पराकाष्ठा हो’ ।

एआईजी भण्डारीले पछिल्लो समय एसपी सानुराम भट्टराईलाई एक नम्बर र एसपी ओमप्रसाद अधिकारीलाई दोस्रो नम्बरमा बढुवा गराउनकै लागि गोप्य कागजात बोकेर शक्तिकेन्द्रमा बाड्दै हिडेको खुल्न आएको छ ।

एमाले नेताका छोरा एसपी भट्टराई एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा पिएसओ समेत बसेका उनी कमाण्ड कन्ट्रोलमा कमजोर मानिन्छन् ।

अर्का एसपी अधिकारी पैसामा बढी नै लोभ गर्ने अधिकृत हुन् । चितवनको एसपीबाट सरुवा हुँदा कार्यालयले दिने मायाको चिनोको सट्टा अधिकारीले लेखापालसङ्ग नगद ५ हजार रुपैयाँ लिएको विषय अहिलेपनि उनका ब्याचमेटबीच बेलाबेलामा चर्चा हुने गर्दछ ।

तर, आईजीपी बसन्त कुवँरले आर्थिक विवादमा नमुछिएका व्यावसायिक तथा कमाण्डमा अब्बल एसपीहरुलाई नेपाल प्रहरीको भावी नेतृत्वको लागि तयार गर्ने मनस्थिति बनाएको बुझिएको छ ।

तत्कालीन आईजीपी सर्वेन्द्र खनालले ब्यक्तिगत इगो राखेर बढुवामा पछाडी धकेलेर अन्यायमा पारेका प्रहरी अधिकृतले न्याय पाउने सम्भावना बढेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us