सिपाहीमा घटुवा भए डीएसपी

काठमाण्डु टुडे २०८१ असार ११ गते १६:०२ मा प्रकाशित

एजेन्सी– प्रहरीमा बढुवा एउटा नियमित प्रक्रिया हो । तर कहिलेकाहीँ घटुवामा परेका समाचार पनि प्रकाश हुने गरेका छन । यस्तै एउटा घटना छिमेकी देश भारतको उत्तर प्रदेश राज्यको उन्नावमा एक डीएसपीलाई घटुवा गरेर सिपाही बनाइएको घटना बाहिरीएको छ ।

उन्नावको तत्कालीन सर्कल अफिसर रहेका डीएसपी कृपा शंकर कनौजियालाई घटुवा गरेर सिपाही बनाइएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार कृपा शंकरले ६ जुलाई २०२१ मा उन्नाव एसपीसँग पारिवारिक कारण देखाएर बिदा मागेका थिए ।

तर बिदा स्वीकृत भएपछि उनी घर नगएर अन्तै घुम्न गएको पत्ता लगेको थियो । डीएसपी कृपा शंकरले बिदा लिएर हिँडेपछि मोबाइल बन्द गरेका थिए । पत्नीले बारम्बार फोन सम्पर्क गर्न खोज्दा मोबाइल लगातार ‘स्वीच अफ’ पाइएपछि कार्यालयमा सोधखोज गरेकी थिइन् ।

कार्यालयबाट कृपा शंकर बिदामा गएको जानकारी पाएपछि पत्नीले उनी घर नआएको भन्दै सहयोग माग गरेकी थिइन् । कुनै अप्रिय घटनाको आशङ्का गर्दै उन्नाव एसपीले प्रहरीकै एउटा टोलीलाई कृपा शंकरको खोजीमा परिचालन गरेका थिए । प्रहरीको टोलीले उनको मोबाइल नम्बरबाट खोजीलाई अघि बढायो । यस क्रममा उनको मोबाइल कानपुरको एउटा होटलमा पुगेपछि बन्द भएको जानकारी प्राप्त भयो ।

प्रहरीले उक्त होटलमा खोजतलास गर्दा कृपा शंकर एक महिला प्रहरीका साथ भेटिए । प्रमाणका रूपमा प्रहरीको टोलीले कृपा शंकर देखा परेको भिडियोसमेत लिएर गएको थियो, जसमा सीसीटीभी क्यामेरामा उनी महिला प्रहरीसँगै होटलमा प्रवेश गरेको देखिएको थियो ।

राज्य सरकारले यो प्रकरणमा कृपा शंकरलाई घटुवा गरी सिपाही बनाउन सिफारिस गरिदियो । सोही आधारमा डीएसपी कृपा शंकरलाई गोरखपुरमा सिपाहीका रूपमा खटाइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us