रास्वपा महामन्त्री ढकालको प्रतिवेदन पार्टी विवेकशीलजस्तो बन्ने खतरा, बालेनसँग मिल्नु ठीक

काठमाण्डु टुडे २०८१ असार १३ गते १६:४८ मा प्रकाशित

काठमाण्डु, १२ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले पार्टीको वर्तमान अवस्थाको बारेमा एक प्रतिवेदन तयार गरेका छन ।

उपनिर्वाचनलगत्तै देशका विभिन्न क्षेत्रमा घुमेपछि उनले तयार गरेको प्रतिवेदनमा उनले पार्टीको जनमत कमजोर बनिरहेको भन्दै यस्तै हिसाबले अगाडि बढे रास्वपाको हालत पनि विवेकशील साझा पार्टीको जस्तो हुने प्रतिवेदनमा उल्लेख गरेका छन ।

सत्ता र शक्तिको आशक्तिले रास्वपा कमजोर बन्दै गएको भन्दै उनले पार्टीप्रति माया र चिन्ता भएरै आफूले गम्भीररूपमा समस्याको कुरा उठाएको बताएका छन ।

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सत्ताका लागि सम्झौता गर्नुभन्दा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहसँग मिल्नु पार्टीका लागि हितकर रहेको समेत प्रतिवेदनमा उल्लेख गरेका छन ।

आफूले तयार गरेको प्रतिवेदन बुधबार नै पार्टी सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई हस्तान्तरण गर्न लागेको उनले जानकारी दिएका छन ।

महामन्त्री ढकालले भागवत गीतालाई आफूले सधैँ मानेको र श्रीकृष्णको वचनलाई सधैं टेरेको भन्दै गीताको प्रसंगलाई पनि उल्लेख गरेका छन् ।

त्यहाँ श्रीकृष्णले नभन्नु भने पनि आफूले पार्टीलाई जन्मदाताकै रूपमा लिएको र नेपाली जनताको आशाको रूपमा पार्टी रहेकाले समयमै विषय उठाएको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us