अग्नि सापकोटाको मुद्दामा फैसला सुनाइने मिति सर्‍यो

काठमाण्डु टुडे २०८१ असार १३ गते १७:३२ मा प्रकाशित

काठमाण्डु, १२ असार– पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटा विरुद्धको मुद्दामा फैसला सुनाउने मिति सरेको छ ।

संवैधानिक इजलासले बुधबार सो मुद्दाको फैसला सुनाउने मिति तोकेको भए पनि एक न्यायाधीश अनुपस्थित भएपछि मिति सरेको स्रोतले जानकारी दिएको छ ।

काभ्रेका अर्जुन लामाको हत्या आरोपमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान माग गर्दै दायर भएको रिटमा जेठ २३ गते बहस सकिएर निसु तोकिएको थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजालसले दुवै पक्षको बहसपछि आज (बुधबार) निर्णय सुनाउने भनी यसअघि नै मिति तोकिएको भए पनि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत नभएपछि फैसला हुन नसकेको हो ।

सर्वोच्च प्रशासनका अनुसार राउत अदालत निरीक्षणका क्रममा बागलुङ पुगेका छन्। उनी आइतबार मात्र फर्किने भएकाले आजको मुद्दा सर्वोच्च प्रशासनले स्थगितको सूचीमा पेशी प्रकाशित गरेको थियो ।

अब सर्वोच्चले संवैधानिक इजलास बस्ने दिन पेशी तोक्ने छ। बुधबार र शुक्रबारमध्ये एक दिन उक्त मुद्दाको निसु तोकिने छ। सो मुद्दामा प्रधानन्यायाधीशसहित पाँच न्यायाधीशको इजलासले बहस सुनेर फैसला सुनाउने तयारी गरेको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us