काठमाण्डुका मेयर बालेनलाई अप्ठ्यारो पार्ने काम भयो: ज्ञानबहादुर शाही

काठमाण्डु टुडे २०८१ असार १८ गते १७:१८ मा प्रकाशित

काठमाण्डु, १७ असार– राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजनीतिक दलका शीर्ष नेताहरूको निर्देशनका कारण काठमाण्डु महानगरपालिकाको बजेट आउन नसकेको बताएका छन ।

आज (सोमबार) प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले यस्तो बताएका हुन । उनले काठमाण्डु महानगरपालिकाका प्रतिनिधिलाई दलका शीर्ष नेताहरूले फोन गरी कार्यपालिका बैठकमा विरोध प्रदर्शन गर्न लगाएको आरोप लगाएका छन ।

उनले दलहरूको राजनीतिको कारण काठमाण्डु महानगरपालिकाको बजेट अस्तव्यस्त भएको दाबी गरेका छन । उनले दलका नेताहरूले काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई अप्ठ्यारो पार्ने काम गरिरहेका भन्दै त्यसो गर्नु नहुने बताएका छन ।

उनले स्थानीय तहमा दलविहीन राजनीति हुनुपर्नेमा जोड दिए ।उनले भने, ‘एउटा वडाध्यक्षलाई दलको शीर्षस्थ नेताले फोन गरेर आदेश दिएर त्यहाँ विरोध प्रदर्शन भइराखेको छ । संसद् हो यहाँ दलको आवश्यकता छ, दलीय राजनीति गरौँ ।

तर स्थानीय तहमा अब दलविहीन राजनीतिको आवश्यकता छ । काठमाडौँ महानगरपालिकाको बजेट अस्तव्यस्त पारिएको छ ।

त्यहाँका जनप्रतिनिधिहरूलाई जनताले स्थानीय वडाध्यक्ष चुनाएका हुन् कि कुनै दलको कार्यकर्तालाई चुनाएका हुन् रु हामी सबैले के बुझ्न आवश्यक छ भने यदि साँच्चै देश विकास गर्ने हो, साँच्चै लोकतन्त्र आएको हो भने जनताबाट निर्वाचित मान्छेहरूलाई स्वतन्त्र छोडिदिऊँ ।

आज काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साहले स्वतन्त्र चुनाव जितेकै कारणले उनलाई कसरी असफल बनाउने, उनलाई कसरी अप्ठ्यारो पार्ने, कुन नेताको घरमा हाजिर लगाएर त्यहाँका कार्यपालिका सदस्यहरूलाई नारा जुलुस गरेर आज देशलाई अस्तव्यस्त पार्ने काम गरिएको छ । यो अस्तव्यस्त पार्ने काम बन्द गरियोस् । र स्थानीय तहमा दलविहीन राजनीति होस् ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us