
काठमाण्डु, २ असोज– अमेरिकाले आईसीसी विश्वकप लिग–२ मा यूएईलाई १० विकेटले पराजित गरेको छ । १०७ रनको लक्ष्य अमेरिकाले १५.५ ओभरमा पूरा गर्न सफल भएको हो ।
ओपनर एन्ड्रिस गौस ५४ बलमा १२ चौका र १ छक्कासहित ६६ तथा स्मित पटेल ४१ बलमा ५ चौकासहित ३८ रनमा आउट भए । त्यसअघि नामिबियाको विन्डहोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएई ३१.२ ओभरमा १०६ रनमा अल आउट भएको थियो ।
युएईका राहुल चोपराले ६४ बलमा ३ चौकासहित सर्वाधिक ३२, अर्यांश शर्माले ३८ बलमा ४ चौका र १ छक्कासहित ३१ तथा अली नासिरले २३ रन बनाउन सफल भएका थिए ।
युएईका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन असफ भए । अमेरिका जशदीप सिंहले ५ ओभरमा १८ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए । सौरभ नेत्रवालकर, नोष्थुह केन्जिगे र मिलिन्द कुमारले २–२ विकेट लिन सफल भएका थिए ।
यसअघि अमेरिकाले नामिबियालाई ६ विकेटले हराएको थियो । अमेरिकाले आइतबार नामिबिया र मंगलबार युएईसँग खेल्नेछ । युएईले शुक्रबार नामिबिया, मंगलबार अमेरिका र बिहीबार नामिबियासँग खेल्नेछ ।
अमेरिका ६ खेलमा ४ मा जितका साथ ८ अंक जोड्दै चौथो स्थानमाछ । युएई ४ खेलमा जित विहीन हुँदै पुछारमा छ । नेपाल ५ खेलमा २ अंकका सात सातौं स्थानमा रहेको छ ।
२०२६ सम्म चल्ने लिग २ मा ८ टोली सहभागी हुँदा शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । यस सिरिजकै लागि नेपाल क्यानडा भ्रमणमा रहेको छ । नेपालले आज राती ८ः ४५ मा ओमानसँग खेल्दै छ । पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो ।