
काठमाण्डु, ३० असोज– विश्व प्रसिद्ध फुटबलर लिओनल मेसीले ह्याट्रिक पछि सन् २०२६ को विश्वकपअन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६–० को फराकिलो अन्तरले पराजित गर्न सफल भएको छ ।
गए राति भएको खेलमा मेसीले खेलको १९औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेका मेसीले ८४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्न सफल भएका थिए ।अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ४३औं, जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।
दुवै गोलका लागि मेसीले असिस्ट गरेका थिए । यस्तै थियागो अल्माडाले ६९औं मिनेटमा गोल गरेका थिए । छनोटमा सातौं जित हात पारेको अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेर शीर्ष स्थान कायम गरेको छ । बोलिभिया १० खेलबाट १२ अंकसहित सातौं स्थानमा रहेको छ ।