
काठमाण्डु, ५ कात्तिक– नेपालले अमेरिकाविरुद्धको तीन खेलको टी–२० आई सिरिज क्लिनस्वीप गरेको छ ।
तेस्रो खेलमा सोमबार अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज जितेको हो ।
पहिलो खेलमा १७ रनले जितेको नेपालले दोस्रो खेल आइतबार सुपर ओभरमा जितेको थियो ।
सोमबार बिहान भएको तेस्रो र अन्तिम खेलमा अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
नेपालका आसिफ शेखले ५० र अनिल शाह १३ रनमा आउट हुँदा कुशल मल्ल ४४ र कुशल भुर्तेल ४० रनमा अविजित रहे ।
अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक-एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५ विकेटको क्षतिमा १ सय ५६ रन बनाएको थियो ।
अमेरिकाका लागि सैतेजा मुक्कामल्लाले ६८, मिलिन्ड कुमारले ४३, आरोन जोन्सले १३ रन र हरमीत सिंहले १० रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका सोमपाल कामीले तीन, रिजन ढकाल र ललित राजवंशीले एक-एक विकेट लिए ।
तीन खेलमा पाँच विकेट लिएका सोमपाल प्लेर अफ द सिरिज भए ।