पहिलो हाफमा नेपाल र बंगलादेश गोलरहित बराबरीमा

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते १९:५० मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– महिला च्याम्पियनसिप–२०२४ को उपाधि भिडन्तको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । खेल अवधिभर अधिकांश समय बंगलादेश नेपालमाथि हाबी रह्यो ।

तर, प्रतिरक्षात्मक देखिएको नेपाली टोलीले गोल गर्न भने दिएन । दुवै टोलीे गोलका लागि पाएको अवसर सदुपयोग गर्न चुके । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने राम्रो अवसर पाएको थियो ।

नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि बंगलादेशकी कप्तान सविना खातुनले पोष्टमा प्रहार गरेकी थिइन् । बल बारमा लागेर फर्कियो । सविना तत्काल हेडमार्फत गोल गर्ने प्रयास गरिन् । नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सहजै बललाई नियन्त्रणमा लिइन् ।
खेलको १०औं मिनेटमा पाएको अवसरलाई नेपालले गोलमा सदुपयोग गर्न सकेन । नेपालकी अमिषा कार्कीले गरेको प्रहार पोलमा लागेर फर्कियो । जबकी त्यतिबेला बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अगाडि बढेर डिबक्स एरियमा आएकी थिइन् ।

नेपाल र बंगलादेश साफ महिला च्याम्पिनसिप उपाधिका लागि यो लगातार दोश्रो भेट हो । यसअघि २०२२ मा नेपालमै भएकको फाइनलमा बंगलादेशले ३–१ गोल अन्तरले नेपाललाई पराजित गरेको थियो ।

नेपाली टोली एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएको छ । टोलीमा पूजा राना, बिमला विक, अमृता जैसी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी, गीता राना, प्रिती राई, सविता राना मगर र अमिसा कार्की छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us