
काठमाण्डु, १४ कात्तिक– साफ महिला च्याम्पियनसिप–२०२४ अन्तर्गत उपाधि भिडन्तमा बंगलादेशविरूद्ध नेपालले बराबरी गोल फर्काएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालका लागि अमिषा कार्कीले ५६औं मिनेटमा गोल गरेपछि खेल एक÷एक गोलको बराबरीमा गएको हो ।
प्रिती राईले सेन्टर एरियाबाट दिएको पासलाई सदुपयोग गर्दै कार्कीले उत्कृष्ट गोल गरिन् । त्यसअघि खेलको ५२औं मिनेटमा बंगलादेशले १–० को अग्रता लिएको थियो ।
बंगलादेशकी मोनिका चक्माले डिबक्स एरियाबाट गरेको प्रहारले जाली चुम्यो । पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।
पहिलो हाफमा खेल अवधिभर अधिकांश समय बंगलादेश नेपालमाथि हाबी रह्यो । तर, प्रतिरक्षात्मक देखिएको नेपाली टोलीले गोल गर्न भने दिएन । दुवै टोलीे गोलका लागि पाएको अवसर सदुपयोग गर्न चुके । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने राम्रो अवसर पाएको थियो ।
नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि बंगलादेशकी कप्तान सविना खातुनले पोष्टमा प्रहार गरेकी थिइन् । बल बारमा लागेर फर्कियो ।
सविना तत्काल हेडमार्फत गोल गर्ने प्रयास गरिन् । नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सहजै बललाई नियन्त्रणमा लिइन् ।
खेलको १०औं मिनेटमा पाएको अवसरलाई नेपालले गोलमा सदुपयोग गर्न सकेन ।
नेपालकी अमिषा कार्कीले गरेको प्रहार पोलमा लागेर फर्कियो । जबकी त्यतिबेला बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अगाडि बढेर डिबक्स एरियमा आएकी थिइन् ।
नेपाल र बंगलादेश साफ महिला च्याम्पिनसिप उपाधिका लागि यो लगातार दोश्रो भेट हो । यसअघि २०२२ मा नेपालमै भएकको फाइनलमा बंगलादेशले ३–१ गोल अन्तरले नेपाललाई पराजित गरेको थियो ।
नेपाली टोली एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएको छ । टोलीमा पूजा राना, बिमला विक, अमृता जैसी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी, गीता राना, प्रिती राई, सविता राना मगर र अमिसा कार्की छन् ।