साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशलाई

काठमाण्डु टुडे २०८१ कार्तिक १४ गते २०:३२ मा प्रकाशित

काठमाण्डु, १४ कात्तिक– साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि बंगलादेशले जितेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा बंगलादेशले २–१ गोल अन्तरले नेपाललाई पराजित गरेको हो । नेपाल र बंगलादेशबीच उपाधि भिडन्तमा दोश्रोपटक भेट भएको हो ।

हारसँगै नेपाल साफ महिला च्याम्पियनसिप–२०२४ को उपविजेता बनेको छ ।

यसअघि सन् २०२२ मा दशरथ रंगशालामै भएको फाइनल भिडन्तमा बंगलादेशले नेपाललाई ३–१ ले पराजित गरेको थियो । बंगलादेशका लागि ८१ मिनेटमा ऋतु चक्माले गोल गरेर टिमलाई २–१ को अग्रता दिलाएकी थिइन् । कर्नर एरियाबाट गरेको प्रहार नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बाले रोक्न नसकेपछि गोलमा परिणत भएको थियो ।

त्यसअघि दोश्रो हाफको ५२ मिनेटमा बंगलादेशकी मोनिका चक्माले डिबक्स एरियाबाट गरेको प्रहारले जाली चुमेको थियो । त्यसको चार मिनेटपछि नेपालकी अमिषा कार्कीले ५६औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याइन् । प्रिति राईको पासमा अमिषाले उत्कृष्ट गोल गरिन् । त्यसपछि पनि नेपालले गोल गर्ने प्रयास गरेको थियो । नेपाल र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी गरे ।

पहिलो हाफमा खेल अवधिभर अधिकांश समय बंगलादेश नेपालमाथि हाबी रह्यो । तर, प्रतिरक्षात्मक देखिएको नेपाली टोलीले गोल गर्न भने दिएन । दुवै टोलीे गोलका लागि पाएको अवसर सदुपयोग गर्न चुके ।

खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने राम्रो अवसर पाएको थियो । नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि बंगलादेशकी कप्तान सविना खातुनले पोष्टमा प्रहार गरेकी थिइन् । बल बारमा लागेर फर्कियो । सविना तत्काल हेडमार्फत गोल गर्ने प्रयास गरिन् । नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले सहजै बललाई नियन्त्रणमा लिइन् ।

खेलको १०औं मिनेटमा पाएको अवसरलाई नेपालले गोलमा सदुपयोग गर्न सकेन । नेपालकी अमिषा कार्कीले गरेको प्रहार पोलमा लागेर फर्कियो । जबकी त्यतिबेला बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अगाडि बढेर डिबक्स एरियमा आएकी थिइन् ।

नेपाल र बंगलादेश साफ महिला च्याम्पिनसिप उपाधिका लागि यो लगातार दोश्रो भेट हो । यसअघि २०२२ मा नेपालमै भएकको फाइनलमा बंगलादेशले ३–१ गोल अन्तरले नेपाललाई पराजित गरेको थियो ।

नेपाली टोली एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा मैदान उत्रिएको छ । टोलीमा पूजा राना, बिमला विक, अमृता जैसी, रेनुका नगरकोटी, सरु लिम्बु, सावित्रा भण्डारी, गीता राना, प्रिती राई, सविता राना मगर र अमिसा कार्की थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us