युएईसँग नेपाल १३ रनले पराजित

काठमाण्डु टुडे २०८१ कार्तिक २४ गते १५:३५ मा प्रकाशित

काठमाण्डु, २४ कात्तिक– आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको छ ।

दुबईमा जारी प्रतियोगितामा १२३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो ।

कप्तान पुजा महतोले सर्वाधिक ४८ रन बनाए पनि नेपाललाई जिताउन सकिनन् । १९औं ओभरमा आउट भएकी पूजाले ४३ बल खेल्दै ५ चौका मद्दतमा ४८ रन जोडिन् । अन्य खेलाडीले उल्लेख्य रन जोड्न सकेनन् ।

सोनी पाख्रिनले २३ बलमा १९ र ओपनर साना प्रविनले ३४ बलमा १९ रन बनाए । ज्योत्सनिका मरासिनी ११ रनमा अविजित रहिन् ।

युएईका लागि इन्दुजा नान्दाकुमार, लावान्य केनी र मेहक ठाकुरले १ –१ विकेट लिन सफल भएका थिए । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाउन सफल भएको थियो ।

यूएईका लागि रिनिथा रञ्जितले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४८ रन बनाइन् । त्यस्तै लावन्या केनीले २० रन जोडिन् ।

नेपालका लागि रिया शर्माले ४ ओभरमा १५ रन दिएर ३ विकेट लिइन् भने पूजा महतो, क्रिस्मा गुरुङ र सीमा केसीले एक–एक विकेट लिन सफल भएका थिए ।

बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रन तथा दोस्रो खेलमा कुवेतलाई १०८ रनको फराकिलो अन्तरले हराएको थियो ।

चार टोली सम्मिलित छनोट प्रतियोगितामा लगातार ३ खेल जितेर ६ अंकसहित यूएई शीर्ष स्थानमा छ । पहिलो हारपछि नेपाल ४ अंकसहित दोस्रो स्थानमा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us