
बुटवल, २४ कात्तिक– बुटवलमा सम्पन्न प्रथम अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ ।
नेपाल राष्ट्रबैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैंकलाई ६–० गोलको फराकिलो अन्तरले हराउँदै ग्लोबल आइएमई बैंकको टिम विजयी भएको हो ।
उपाधि विजेता ग्लोबल आइएमईले ५० हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल भिडन्तमा पराजित उपविजेता एनएमबि बैंकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
२९ टिमबीच भएको प्रतियोगिताको अन्तिम दिन शनिबार १६ टिमबिच क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका खेलहरु भएका थिए ।
यस्तै प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भने ग्लोबल आइएमई बैंककै दुर्गा ओलीले १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बन्न सफल भए ।
यस्तै सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंककै दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक विज्ञानराज सुवेदीको प्रमुख आतिथ्यतामा समापन कार्यक्रमको आयोजना गरिएको थियो ।
उपाधि बिजेता, उपविजेता तथा खेलाडीहरूलार्इ निर्देशक सुवेदी, राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।
खेलको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकालले उद्धाटन गर्दै प्रतियोगिताको सफलताको कामना गरेका थिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैक, सहप्रायोजकमा ग्लोबल आइएमई बैक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका छन् ।