युएईलाई पराजित गर्दै नेपाल यू-१९ महिला विश्वकपमा छनोट

काठमाण्डु टुडे २०८१ कार्तिक २८ गते १८:५१ मा प्रकाशित

काठमाण्डू, २८ कात्तिक- संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै नेपाली महिला यू-१९ टोलीले मलेसियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोटको यात्रा तय गरेको छ ।

आइसिसी यू-१९ महिला टी–२० विश्वकपको एसिया छनोटअन्तर्गत नेपालले निर्णायक तथा अन्तिम खेलमा युएईलाई ८ विकेटले पराजित गरेसँगै विश्वकपमा स्थान पक्का गरेको हो ।

चार टोलीबीच भएको छनोटमा नेपाल र युएईले समान ५-५ जित निकाल्दा १०-१० अंक जोडे ।

नेपालको रनरेट ३.९ र युएईको ३.७ छ । युएईले पहिलो चरणको लिगमा नेपाललाई हराएको थियो । बुधबार नेपालले युएईलाई दोस्रो चरणको लिगमा पराजित गरेसँगै रनरेटमा पनि स्थान सुधार गर्न सफल भएको हो ।

निर्णायक तथा अन्तिम खेलमा युएई दिएको ८४ रनको लक्ष्य नेपालले २ विकेटको क्षतिमा १४.४ ओभरमै पूरा गर्‍यो ।

नेपालका लागि ओपनर सना प्रवीनले नटआउट ३५ रन र सोनी पाख्रिनले नटआउट १३ रनको योगदान गरे ।

सावित्री धामीले १२ रन जोड्दा कप्तान पूजा महतोले २१ रन बनाइन् । पूजाले १८ बलमा ४ चौका प्रहार गरिन् ।

त्यसअघि अजमानस्थित द सेभेन्स रंगशालामा टस जितेर ब्याटिङ गरेको घरेलु टोली युएईले २० ओभरमा ९ विकेटको क्षतिमा ८३ रन मात्र जोड्न सक्यो ।

युएईका लागि समइरा धर्नीधर्काले सबैभन्दा बढी ३१ रन जोडिन् । उनले ४८ बलमा १ चौका प्रहार गरिन् । बलिङमा नेपालकी कृष्मा गुरुङले चार विकेट लिइन् ।

उनले १८औं ओभरमा तीन विकेट लिँदा नेपालले खेल नियन्त्रणमा लिएको थियो । कृष्माले चार ओभर बलिङ गर्दा १७ रन दिइन् । यस्तै नेपालका लागि रिया शर्मा र सीमा केसीले दुई दुई विकेट लिए ।

कात्तिक २१ गतेदेखि भएको एसिया छनोटमा नेपालले यसअघि पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई एक सय आठ रनले हरायो ।

तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौथो खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रन र मंगलबार भएको पाँचौँ खेलमा कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us