
काठमाण्डू, १ मंसिर- अर्थमन्त्री विष्णुप्रसाद पौडेलेले राजस्व प्रशासनका कर्मचारीप्रति असन्तुष्टि जनाएका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आन्तरिक राजश्व कार्यालय लाजिम्पाटमा आयोजित कार्यक्रमा पौडेलले कर प्रशासकको सन्तोषजनक नरहेको बताए ।
अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्ष कर कार्यालयहरूको कार्यसम्पादन कमजोर देखिएको उनको भनाइ थियो ।
अर्थतन्त्र संकटपूर्ण र असमान्य रहेकाले सोहीअनुसार काममा खट्न कर्मचारीलाई निर्देशन दिए ।
‘अहिले हामी असमान्य अवस्थामा छौं । असमान्य अवस्थामा सामान्य काम गरेर पुग्दैन,’ पौडेलले भने ।
सरकारको खर्च आवश्यकता बढेको अवस्थामा कर संकलनको स्थिति कमजोर भएको उनले जनाए ।
अर्थतन्त्रको आकार बढ्दै गएको अवस्थामा समेत कर संकलनको अवस्थामा सुधार नहुनु चिन्ताजनक रहेको पौडेलको भनाइ थियो । मुलुकमा हाल प्रतिनिधिसभाका प्रमुख दुई दल काँग्रेस र एमाले गठबन्घनको झण्डै दुई तिहाइको सरकार छ । दुवै दलले राजनीतिक स्थायित्वको अभावमा आर्थिक संकट चुलिएको दाबी गर्दै बलियो सरकार बनेपछि चमत्कार हुने जिकिर गरेका थिए । तर त्यसविपरीत संसदमा ३२ सिट भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला गत आर्थिक वर्षको भन्दा पनि कर संकलनको अवस्था कमजोर रहेको स्वीकार गर्दै अर्थमन्त्री स्वयंले निराशा व्यक्त गरेका छन् ।