
काठमाण्डु, २१ मंसिर– नेपाल प्रिमियर लिग (एनपिएल) अन्र्गत आज शुक्रबार भएको खेलमा कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ ।
काठमाण्डुको कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाउन सफल भएको हो ।
अन्तिम बलमा रनआउट हुनुअघि रोहितले ५९ बल खेल्दै १० चौका र ४ छक्का मद्दतमा ९५ रन बनाएका थिए । अन्तिम दुई बल बाँकी छँदा रोहित ९४ रनमा खेलिरहेका थिए ।
तर अन्तिम ओभरको पाँचौ बलमा सिंगल लिएपछि रोहित शतक बनाउने पहिलो खेलाडी बन्नबाट चुके । अन्तिम बलमा ३ रन लिने चक्करमा दौडिएका रोहित रनआउट भएका हुन ।
यस्तै टम मुर्सले ३८ बल खेल्दै २ चौका र २ छक्का मद्दतमा ४५ रन बनाउन सफल भए । रोहित र टम मुर्सले चौथो विकेटका लागि ११० रनको शतकीय साझेदारी गरे । दुई ओपनर आशुतोष घिरैया र उन्मुक्त चन्द शून्यमा आउट भएपछि रोहित र मुर्सले इनिङ्स सम्हालेका थिए ।
सन्दिप जोराले १५ बलमा २ चौका र १ छक्का प्रहार गरी १८ रन बनाउन सफल भए । पोखराका विपिन खत्रीले ३ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । म्याट क्रिटलेले १ विकेट लिन सफल भएका थिए ।