
काठमाण्डु, २१ मंसिर– नेपाल प्रिमियर लिग अन्र्तग आज (शुक्रबार) भएको खेलमा आन्द्रेस गौसको सानदार शतकमा पोखरा एभेन्जर्सले पहिलो जित हात पार्न सफल भएको छ ।
गौस र दिनेश खरेलले कीर्तिमानी साझेदारी गरेपछि पोखराले शुक्रबारको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्न सफल भएको हो । गौसको अविजित १०४ रनमा पोखराले १७१ रनको लक्ष्य १६.५ ओभर खेल्दै १७६ रन बनाएर पुरा गर्न सफल भएको हो ।
पोखरामा एनपीएलमा १० विकेटको जित हात पार्ने पहिलो टिम बन्यो । योसहित पोखराले जितमा विभिन्न कीर्तिमान पनि बनाएको छ । जसमा गौसको पहिलो शतक समेत रह्यो ।
एनपीएलमा शतक हान्ने पहिलो खेलाडी पनि गौसनै बने । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पुरा गर्न सफल भएका हुन । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्का मद्दतमा शतक बनाउन सफल भएका हुन । गौसले ५५ बल खेल्दै अविजित १०४ रन जोडे ।
उनले १२ चौका र ५ छक्का नै प्रहार गरेका थिए । यसैगरी विजयी छक्का प्रहार गरेका दिनेशले ४६ बल खेल्दै अविजित ६१ रन जोडे । उनले ४ चौका र ४ छक्का प्रहार गर्न सफल भएका हुन ।
पोखराका अमेरिकन विकेट किपर ब्याटर गौसले एनपीएलमा सबैभन्दा छिटो अर्धशतक प्रहार गरे । उनले २० बलमै ५ चौका र ३ छक्का मद्दतमा अर्धशतक पूरा गरेका हुन् । यसअघि सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले विराटनगर किंग्स विरुद्ध २३ बलमा अर्धशतक हानेका थिए ।
एनपीएलमा यो पहिलो विकेटका लागि पहिलो शतकीय साझेदारी हो भने समग्रमा तेस्रो शतकीय साझेदारी हो । यसअघि पहिलो विकेटका लागि जनकपुर बोल्ट्सका अनिल शाह र आसिफ शेखले कर्णाली याक्सविरुद्ध पहिलो विकेटका लागि ८४ रनको साझेदारी गरेका थिए ।
यसैगरी गौस र दिनशले पहिलो विकेटका लागि गरेको साझेदारी एनपीएलकै उच्च साझेदारी समेत हो । यसअघि उद्घाटन खेलमै जनकपुर बोल्ट्सका लाहिरु मिलान्था र हर्श थाकरले विराटनगर किंग्स विरुद्ध तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरेका थिए ।
गौस र दिनेशले त्यो साझेदारीको कीर्तिमान तोडेका हुन् । त्यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले कप्तान रोहित पौडेलको ९५ रन मद्दतमा निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १७० रन बनाएको थियो ।