
काठमाण्डु, २६ मंसिर– उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले हाल देशको अर्थतन्त्र समस्या र दबाबमा रहेको दाबी गरेका छन । आज बुधवार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा भएको छलफलमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन ।
उनले अर्थतन्त्रको समस्या समाधानका लागि क्रमशः पहल भैरहेको पनि बताएका छन । अर्थमन्त्री पौडेलले भने, ‘समग्र आर्थिक स्थितिमध्ये केहि सूचक राम्रो छ । सेयर बजार लगायतमा गतिशील बनेको छ । तपाइँहरू यसमा सन्तुष्ट हुनुहुन्न । म स्वयम् पनि सन्तुष्टि छैन, ‘राजस्व परिचालनको बारेमा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ ।
गत वर्ष ३ प्रतिशत रहेकोमा अहिले १७ प्रतिशत पुगेको छ ।’ यसैगरी राजस्व चुहावट रोक्नका लागि सरकारले प्रयास गरिरहेको समेत बताएका छन । तर उनले सबै प्रयास सफल हुन नसकेको बताएका छन ।
उनले भने, ‘अहिले राजस्वको लक्ष्य पुरा गर्न ३०–३१ प्रतिशत वृद्धि गर्नुपर्छ । म लक्ष्य पुरा गर्न लागि परिरहेको छु, ‘यो लक्ष्य पुरा गर्दा मात्रै बजेटको सन्तुलन हुनसक्छ ।’
वैधानिक च्यानलबाट नआउने गैरकानुनी ढङ्गबाट बढी आयात हुने गरेकाले राजस्व सङ्कलनमा समस्या आएको समेत उजले बताए । राजस्व चुहावटमा अनियमितता लगायतका गतिविधि रोक्न जरुरी रहेकाले सरकारले पहल गरिरहेको मन्त्री पौडेलले बताए ।
पछिल्लो ब्याजदर घटेको, तरलता बढेको तर लगानी हुन नसकेको बताउँदै अर्थमन्त्री पौडेलले उत्पादन र उत्पादकत्वको क्षेत्रमा लगानी गर्न पहल भइरहेको समेत बताएका छन ।