
काठमाण्डु, २६ मंसिर– पूर्व अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अर्थतन्त्रका सूचकमा सुधार देखिए पनि गत वर्षको भुक्तानी भएकाले मात्रै बढी खर्च भएको दाबी गरेका छन ।
आज बुधबार प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राजस्व सङ्कलनको अवस्था एवम् भन्सार कार्यालयले बेहोर्नु परेका नीतिगत समस्या र समाधान विषयमाथि बुधवार भएको छलफलमा बोल्दै पूर्व अर्थमन्त्री पुनले यस्तो बताएका हुन ।
उनले भने, ‘अहिले पनि समस्या खर्च गर्नेमै छ । खर्च गर्ने जहिल्यैको समस्या हो । राजनीतिक परिवर्तनका कारण सिद्धान्त र प्राथमिकता एक जनाले प्रस्तुत गर्नुभो तर बजेट कार्यान्वयन गर्नेमा अर्को मन्त्रीले पर्नुभो,’ पुनले भने, ‘चर्चा गरेभन्दा कम बजेट आएको छ ।
ठुला आयोजनाको टेन्डर भएको छैन ।’ उनले नयाँ चरणको आर्थिक सुधार आवश्यक रहेको पनि बताएका छन । उनले भने, ‘यही गतिमा हिँडेर राजस्व धेरै आउने भन्ने हुँदैन ।
एकातिर प्राइभेट सेक्टर र राज्य मिलेर अर्थतन्त्रको सुधार गर्न सकिन्छ, ‘लगानी किन भइरहेको छैन भन्दा आन्तरिक र वाह्य लगानी हुन सकेको छैन, ‘धितोपत्र बोर्ड र विद्युत् प्राधिकरण लगायत अर्थतन्त्रलाई चलायमान बनाउने निकायमा अहिलेको सरकारसँग टिउनिङ मिल्ने हुनुहुन्छ । तर अपेक्षित लगानी हुन सकेको छैन ।’