
काठमाण्डु, २७ मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज बिहिबार भएको खेलमा जनकपुर बोल्ट्स काठमाण्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै प्लेअफ पुग्ने पहिलो टोली बन्न सफल भएको छ ।
काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित हात पारेको जनकपुरले लिगको अन्तिम खेल खेल्नुअघि नै प्लेअफमा स्थान पक्का गरेको हो । जनकपुरले ६ खेल खेल्दा ५ जितसहित १० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
काठमाण्डुको कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा काठमाण्डुले दिएको १०२ रनको लक्ष्य पछ्याएको जनकपुरले १५.५ ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।
जनकपुरको जितमा जीमी नीशमले १७ बलमा १ चौका र ३ छक्का मदतमा सर्वाधिक २७ रन बनाउन सफल भए । हर्श थाकरले अविजित २५ रन योगदान गरे । उनले २५ बल खेल्दा १ चौका र १ छक्का प्रहार गरे ।
लाहिरु मिलान्थाले १६ र कप्तान अनिल साहले ११ रन बनाए । मोहम्मद मोहसिनले अविजित १३ रन जोडे । बलिङमा काठमाण्डुका करण केसीले २ तथा शाहब आलम, जेर्राड एरासमस रदिपेश कँडेलले समान १ विकेट लिन सफल भएका थिए ।
त्यसअघि जनकपुरका ललित राजवंशीले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु जनकपुरको धारिलो बलिङ सामु टिक्न नसक्दा १९.३ ओभरमा सबै विकेट गुमाएर १०१ रनमा अलआउट भएको थियो ।