लुम्बिनीलाई हराउँदै प्लेअफको नजिक पुग्यो कर्णाली

काठमाण्डु टुडे २०८१ मंसिर २८ गते १२:४५ मा प्रकाशित

काठमाण्डु, २८ मंसिर– नेपापल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज शुक्रबार भएको खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई ५ रनले हराउँदै प्लेअफको सम्भावना बलियो बनाएको छ ।

१ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २३ रन मात्रै बनाउन सफल भएको थियो । लुम्बिनीका लागि टम मुर्सले सर्वाधिक ३६ रन बनाउन सफल भएका थिए ।

उनले ३५ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै सन्दीप जोराले २१ बलमा २४ बनाउन सफल भए । उनले २ छक्का प्रहार गरेका थिए । ओपनर अशुतोष घिरैयाले २१ बलमा १६ रन बनाए । उनले २ चौका प्रहार गरे ।

अर्का ओपनर अर्जुन साउदले ६ बलमा १३ रन जोडे । उनले ३ चौका प्रहार गरे । यस्तै कप्तान रोहित पौडेल ८ बलमा १० रन बनाएर पभेलियन फर्किए । उनले २ चौका प्रहार प्रहार गरे । साद बिन जाफर ११ बलमा १६ रन बनाएर रन आउट भए ।कर्णालीका लागि जिसान मक्सुदले २ विकेट लिए । ३ ओभरमा उनले मात्र १२ रन खर्चिए । सोमपाल कामी, विपिन शर्मा र विलियम बोसिस्टोले १–१ विकेट लिन सफल भएका थिए ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । टोलीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रनको योगदान दिए । मात्र ३० बलमा उनले ३ चौका र ३ छक्का हिर्काए । अर्जुन घर्तीले २५ रन बनाए । उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरे । दुवैले मिलेर ७२ रनको साझेदारी गरे ।

ओपनर बाबर हायातले २२ बलमा २० रन जोडे । उनले १ चौका र १ छक्का प्रहार गरे । त्यस्तै, चाडविक वाल्टनले १५ बलमा १३ रन बनाए । लुम्बिनी लायन्सका लागि विकास अग्रीले ३ विकेट हात पारे । दुई ओभर बलिङ गरेका उनले १४ रन खर्चिए । तीनै विकेट उनले अन्तिम ओभरमा लिएका थिए । तिलक भण्डारीले ४ ओभर बलिङ गर्दै २३ रन खर्चेर २ विकेट लिए ।

साद बिन जाफरले ४ ओभरमा २९ रन खर्चेर १ विकेट लिए । कप्तान रोहित पौडेलले २ ओभरमा मात्र ६ रन खर्चेर १ विकेट हात पारे । रेमन सिमन्ड्सले पनि १ विकेट लिए । लुम्बिनी लायन्सको भने यसअघि नै प्रतियोगिताको प्लेअफमा पुग्ने सम्भावना समाप्त भइसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us