
रसुवा, ५ पुस– केरूङबाट मालसामान बोक्ने मालवाहक कन्टेनरको चाप बढ्न थालेको छ ।
चिनियाँ सामग्री आयातका लागि दैनिक रूपमा दुई दर्जनभन्दा बढी कन्टेनर केरुङ जाने गरेको सीमासुरक्षाकर्मीले जनाएका छन् ।
स्याउ, लसुन, अदुवा, स्याउपाति, ओखर तथा चप्पल, तयारी पोशाक तथा विद्युतीय सामान, नेपालमा निर्माणाधीन जलविद्युत् आयोजनाका उपकरण, खेलौना गरी विविध प्रकारका मालसामान आयात हुने गरेको र त्यस्ता वस्तु बोकी आएका दुई सयभन्दा बढी कन्टेनर भन्सार प्रकृयामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।
प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईका अनुसार सवारीसाधनका हकमा रसुवागढी नाकाबाट सबैभन्दा बढी ईभी आयात हुने गरेको छ ।
चालु आर्थिक वर्षको गत साउनदेखि मङ्सिर मसान्तसम्म सानाठूला गरी तीन हजार सवारीसाधन रसुवागढी नाकाबाट नेपाल भित्रिएको छ ।
वर्तमान अवस्थामा राजस्व आर्जनको प्रमुख स्रोत सवारी साधनकै बढी हिस्सा भएको प्रमुख भट्टराईले जानकारी दिए ।
चालु आव २०८१र८२ को प्रथम चौमासिकअन्तर्गत करिब एक सय २४ अर्बको सामग्री आयात भई १२ अर्बभन्दा बढी राजस्व आर्जन भएको भन्सार कार्यालयले जनाएको छ ।