काठमाण्डू, २३ माघ– पूर्व मन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षामान पुनले २०८४ को निर्वाचनअघि वामपन्थी ध्रुवीकरणको कुनै सम्भावना नरहेको बताएका छन् ।
उपमहासचिव पुनले वामपन्थी एकता अन्तर्गत नेकपा एमालेसँग पार्टी एकीकरण र गठबन्धन गरिसकेको स्मरण गराउँदै अब सम्भावना नरहेको बताएका हुन । आज मंगलबार प्रेस सेन्टर कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमाहसचि पुनले यस्तो बताएका हुन । उनले दुई ठूला दल मिलेर गठबन्धन सरकार चलाइरहेका कारण माओवादी प्रतिपक्षमै बस्ने पनि बताएका छन ।
उपमहासचिव पुनले भने, ‘हामीले वामपन्थी मिल्नुपर्छ भनेर पार्टी एकता, गठबन्धन गरेका थियौँ । त्यो बिग्रिसकेपछि पनि कोर्स करेक्सन गर्न खोज्यौँ तर एमाले त्यो होइन रहेछ, ‘२०८४ को निर्वाचनमा हामी एक्लै लड्छौँ । वामपन्थी ध्रुवीकरण सम्भव छैन । ओलीजीले दुईपटक धोका दिइसक्नुुभएको छ । उहाँबाट तेस्रोपटक धोका खाने पक्षमा छैनौँ ।’
नेकपा विभाजनपछि नयाँ समीकरण बनिसकेको अवस्थामा स्वयं ओलीले नै अध्यक्ष प्रचण्डलाई ६ महिनासम्म लगातार भेटेर तत्कालीन सयममा सरकारको नेतृत्व हस्तान्तरण नगर्नु गल्ती थियो भनेर स्वीकार गरेको बताएका छन । ओलीकै आग्रहअनुसार कोर्स करेक्सन गरेर पुनः सरकार निर्माण गर्न गठबन्धन गरिएको उनको भनाइ थियो ।
तर, ओलीले प्रचण्डबाट आफूले ठूलो धोका पाएको भन्दै वामपन्थी गठबन्धनका नाममा प्रतिशोध साँधेको उनको दाबी छ । उनले भने, ‘नेकपा बन्यो टिकेन । ओली कमरेडले अध्यक्ष प्रचण्डलाई तपाईंलाई सरकारको नेतृत्व हस्तान्तरण गर्नुपर्ने थियो त्यो नगर्दा गल्ती भयो । नयाँ समीकरण बनेको पनि नेकपाको बहुमत नटिकेरै हो ।
त्यसैले कोर्स करेक्सन गरौँ भनेर हाम्रो तहमा पनि भनिरहनुभयो, ‘त्यसपछि नै वामपन्थी विचार हुनेहरू मिलौँ भनेर सरकार परिवर्तन गरेका हौँ । म सहितका साथीहरू लागेकै हो । तर ओली कमरेडमा त्यो खालको रहनेछ ।’ अहिले कांग्रेसकै नेताहरूले त्यो बेला ‘ओलीले प्रचण्डले सताएका छन् दुई महिनामै फर्किन्छु’ भनेर माओवादीसँग मिलेको बताउने गरेको पुनको दाबी छ ।