मेयर बालेनको स्वरमा चलचित्र ‘लाज शरणम्’ को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक

काठमाण्डु टुडे २०८१ माघ २८ गते १६:५६ मा प्रकाशित

काठमाण्डू, २८ माघ– चलचित्र लाज शरणम्को नयाँ गीत ‘नेपाल हाँसेको’ सार्वजनिक गरीएको छ ।

काठमाण्डू महानगरपालिकाका मेयर बालेन शाहको स्वरमा रहेको यो गीत आज सोमबार दिउँसो सार्वजनिक गरीएको हो । मेयर शाहले पद सम्हालेपछि यो उनको पहिलो औपचारिक गीत हो ।

यसअघि उनी हिप–हप संगीतमा चर्चित भए पनि मेयर बनेपछि कुनै नयाँ गीत सार्वजनिक गरेका थिएनन् । फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शनको तयारीमा रहेको लाज शरणम् टिमले केही दिनअघि मात्र हेर्दा हेर्दैमा… बोलको गीत सार्वजनिक गरिसकेको छ ।

हास्य टेलिश्रृंखला सक्किगोनि टिमले निर्माण गरेको यो चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ मुख्य भूमिकामा देखिनेछन् भने निर्देशन कुमार कट्टेलले गरेका छन् ।

चलचित्रमा अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्य, विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायतका कलाकारको अभिनय रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us