कुलमानको पक्षमा उत्रिए महावीर पुन, संखुवासभाबाट चुनाव लडेर दीपक खड्कालाई हराउन आग्रह

काठमाण्डु टुडे २०८१ फागुन २३ गते ७:०० मा प्रकाशित

काठमाण्डू, २३ फागुन- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले शून्य नम्बर दिएकामा आपत्ति जनाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पुनले घिसिङलाई शून्य नम्बर दिने सचिव र सहसचिव टोलीलाई आफूले माइनस ९९ नम्बर दिने बताए । त्यस्ता विवेकहीन कर्मचारीले देश डुबाउने र नेताहरुलाई पंगु बनाउने उनको भनाइ छ ।

पुनले आगामी निर्वाचनमा आफूलाई दुःख दिने ऊर्जामन्त्री दीपक खड्काको क्षेत्रबाट चुनाव लडेर उनलाई हराइदिन घिसिङलाई आग्रह गरे । खड्का ०७९ को आमनिर्वाचनमा संखुवासभाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

सरकारले घिसिङलाई कार्यकारी निर्देशकबाट हटाउने तयारी स्वरुप बिहीबार पाचौंपटक ४ बुँदे स्पष्टीकरण सोधेको छ ।

प्रतिपक्षीले घिसिङलाई शून्य अंक दिएको र पटकपटक हटाउने प्रयास गरेको विषयमा संसदमा उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले घिसिङलाई नभई लोडसेडिङ अन्त्यको जस छिमेकी भारतलाई दिनुपर्ने अभिव्यक्ति दिएका थिए ।

उठाउन बाँकी डडिकेटेड र ट्रंक लाइनको विद्युत महसुलसमेत जोडेर प्राधिकरणलाई नाफा देखाइएको भन्दै उनले त्यसलाई कुलमानको अपराधको संज्ञासमेत दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us