
काठमाण्डू, १६ चैत– प्रहरीले हिजो (शुक्रबार) काठमाण्डूको तीनकुने क्षेत्रमा भएको घटनामा संलग्न भएको भन्दै विवादास्पद मेडिकल व्यवसायी एवं राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं निकट युवा समूहका एक कमाण्डरलाई पक्राउ गरेको छ ।
‘रोयल टास्क फोर्स (आरटीएफ)’ भनिने समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई काठमाण्डूको बालाजु क्षेत्रबाट आज पक्राउ गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ । शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा राजभण्डारी पनि सहभागी थिए । प्रदर्शन हिंसात्मक हुँदा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो ।
उनले आजै मात्र पत्रकार मृत्युको कारण राज्यपक्ष भएको आरोप लगाउँदै फेसबुक स्टाटस राखेका थिए । प्रहरीले राजावादीहरुको प्रदर्शनमा सहभागी राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा र स्वागत नेपाल लगायतलाई शुक्रबार नै पक्राउ गरेको थियो ।
शुक्रबार तीनकुनेको हिंसात्मक आन्दोलनमा ढुंगामुढा गर्ने धर्मगुरु पुष्कर खतिवडालाई पनि आज बिहान प्रहरीले नियन्त्रणमा लिएको छ ।