
काठमाण्डू, १८ चैत- नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली ले गत शुक्रबार काठमाण्डूको तीन कुने क्षेत्रमा भएको घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहले उन्मुक्ति नपाउने बताएका छन् ।
आज (सोमबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।
काठमाण्डूकको तीनकुनेमा गत शुक्रबार भएको राजावादी समूहको आन्दोलन हिंस्रक हुनुमा पूर्वराजा शाहको समेत संलग्नता भएको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले जुनसुकै आवरणमा पनि हिंस्रक आन्दोलन गर्ने जोसुकैलाई कानूनी दायरामा ल्याइने बताएका हुन ।
प्रधानमन्त्री ओलीले भने, ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते सार्वजनिक भिडियो वक्तव्य जारी गर्दै भिड उक्साउने काम गर्यो। पूर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न ।
फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै श्रृङ्खलावद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नुपर्दैन।’ पूर्वराजा शाहले भिडियो वक्तव्य जारी गरी भीड उक्साउने काम गरेको उनको आरोप छ ।
प्रधानमन्त्री ओलीले पूर्वराजाविरुद्ध अभिव्यक्ति दिँदा राप्रपा सांसदहरुले सभामा उठेर विरोध जनाएका थिए।