
काठमाण्डू, २२ चैत– काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत सरोज गुरागाईंले रोकिएका कर्मचारीको तलबका लागि तोक लगाइदिएका छन ।
आज (शुक्रबार) कार्यालय समय सुरु हुनासाथ गुरागाईंले कर्मचारीको तलबका लागि तोक लगाइदिएका हुन् । महानगरपालिकाका एक उच्च तहका कर्मचारीका अनुसार, आगामी सोमबारसम्म तलब हात पर्नेगरी गुरागाईंले शुक्रबार तोक लगाइदिएका हुन् ।
यसअघि गत पुस ७ गतेदेखि बिदामा बसेका गुरागाईं हिजो (बिहीबार) कार्यालय हाजिर भएका थिए । उनी हाजिर गर्न पुगेलगत्तै महानगरमा केहीबेर तनाव भएको थियो । उनलाई रोक्न महानगर प्रहरी समेत खटाइएको थियो ।
तर, कर्मचारीहरूले उनलाई रोक्न नदिँदै र्काकक्षसम्म पुर्याएका थिए । गत पुस ७ गतेदेखि गुरागाईंलाई बिदामा राखिएको थियो । त्यसपछि नियुक्त भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले पनि राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।