
काठमाण्डू, २२ चैत– काठमाण्डू महानपालिकाका नगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले काठमाण्डू महानगरपालिकाका प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष माफी मागेका छन् । आज (शुक्रबार) काठमाण्डू महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईको कार्यकक्षमा गएर विहीवारको व्यवहारप्रति माफी मागेका हुन् । गुरागाईलाई कार्यालय प्रवेशमा रोक्न पाण्डेले बल प्रयोग गरेका थिए ।
महानगरका एक अधिकारीले भने–आज राम्रोसँग कार्यालय सन्चालन भयो । केही गडबडी हुन्छ कि भनेर हामी विभिन्न कार्यक्षेत्रमा भएका कर्मचारी पनि महानगरपालिकाको कार्यालयमा गएका थियौं । गाडीको ह्वील लक पनि खुलेछ । राजु पाण्डेजीले प्रशासकीय प्रमुखलाई सलाम ठोकेरै अघिल्लो दिनको व्यवहार र आफ्नो बाध्यता सुनाउँदै माफी माग्नुभयो ।
मेयरको मौखिक आदेशले उहाँ यसअघि पनि अप्ठेरोमा पर्नुभएको थियो,सायद महानगर प्रहरीको संचालन प्रशासकीय अधिकृतको खटनपटनमा हुने कुरा भुल्नुभएको थियो होला ।
उपमेयर सुनिता डंगोलले पाण्डेसँग मेयरको लिखित आदेश मागेपछि उनी रक्षात्मक भइसकेका थिए । महानगर प्रहरी बलको प्रमुख मेयर र उपमेयरप्रति उत्तिकै जवाफदेही हुनुपर्ने डंगोलको भनाइ थियो ।