
काठमाण्डू, २३ चैत– मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक रतुवामाइ–१ कल्याणपुरका ४२ वर्षीय सोम टुडू र उनकी पत्नी ३५ वर्षीया वामनी हेमरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।
शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आमबारीबाट उर्लाबारीतर्फ जाँदै मोटरसाइकल आफैं अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटना लगतै स्थानीयले दुवै जनालाई उपचारका लागि रंगेली अस्पताल पठाएका थिए ।
अस्पतालमै उनीहरुको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुवै जनाको शव पोष्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको पनि जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ । रातको समयमा तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।