
काठमाण्डू, २३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले ३५ वर्षसम्म देश लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने आफ्नो पार्टी र सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन । सभापति लामिछानेलाई शुक्रबार बूढानीलकण्ठस्थित निवासबाट पक्राउ गर्ने क्रममा प्रहरीले ‘अन्तिम इच्छा के छ ?’ भनेर सोधेको प्रसंग कोट्याउँदै सो कुरा बताएका हुन् ।
आज (शनिबार) चितवनमा आयोजित पार्टीको जनयात्राको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन । उनले भने, ‘अन्तिम इच्छा के छ भनेर सोधियो । रवि लामिछाने र पार्टीको अन्तिम इच्छा सुनाउन चाहन्छु । किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ । युवा पलायन रोक्ने र रोजगारी सिर्जना गर्ने इच्छा छ ।
दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ । ३५ वर्षसम्म लुटेकाहरूलाई पाता कसेर जेलभित्र दश दान र बैतर्नी गर्ने इच्छा छ ।’ उनले एक जना व्यक्तिलाई ५–७ वर्षदेखि पटक–पटक लखेटिरहेको बताए । उनले टिभीमा हुँदा लखेटेर चितवन लिए पनि चितवनले सशक्त विद्रोह गर्दै न्याय दिलाएको स्मरण गराए । ‘लखेट्न नहुनेलाई लखेटिरहेको छ । विगतमा लखेट्दा देशको चौथो ठुलो पार्टी र रविलाई देशको उपप्रधान र गृहमन्त्री बनाइयो, तिनीहरूलाई हेक्का छैन ।
न्यायालयको प्रक्रिया र आदेशलाई मान्छु भनेर न्यायालयप्रति हार्दिकता देखाउँदा पनि साढे ७ बजे आदेश १० बजे पक्राउ गर्नुपर्ने, त्यो पनि गुण्डागर्दी शैलीसँगै, बेडरुमसम्म पुगेर दुर्व्यवहार गरियो ।’प्रहरीको शैलीको विरोध गर्दै उनले गृहमन्त्रीलाई खबरदारी गरे । रविको मुटुमा रगत नभएर तेजाब रहेको र यसले उनीहरूलाई जलाउने चेतावनी पनि दिए । ‘दियो मसाल बनेको छ, डढेलो लागेको छ, ८४ मा तिमीहरू खाक बन्दैछौँ,’ उनले भने ।