
काठमाण्डू, २४ चैत– आगामी २६ चैतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गर्न लागेको आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ। समितिका कार्यवाहक संयोजक जगमान गुरुङले आज एक विज्ञप्ति जारी गर्दै राप्रपाको आन्दोलनमा आफूहरूको समर्थन रहेको बताएका छन ।
साथै गुरुङले राजसंस्था पुनस्स्थापनाका लागि हुने आन्दोलनमा सक्रिय सहभागिताका लागि आग्रह समेत गरेका छन । राप्रपाले ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मूल नाराका साथ २६ गते काठमाडौँको भृकुटीमण्डमा जनप्रदर्शन तथा आमसभा गर्दैछ ।
‘अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा २०८१ चैत्र २६ गते काठमाडौँ, भृकुटी मण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहने छ,’ विज्ञप्तिमार्फत गुरुङले भनेका छन्, ‘उक्त कार्यक्रममा राष्ट्रिय झण्डासहित शान्तिपूर्ण रूपमा सक्रिय सहभागिता जनाइदिनु हुन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा हार्दिक आह्वान समेत गर्दछौं ।’ यसअघि समितिले चैत १५ गते दुर्गा प्रसाईंले आह्वान गरेको जनप्रदर्शनलाई पनि समर्थन गरेको थियो।