रविलाई भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै राखियो

काठमाण्डु टुडे २०८१ चैत २४ गते १२:३८ मा प्रकाशित

काठमाण्डू, २५ चैत– सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिलानेलाई आज (सोमबार) जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ ।उनलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको कारागार प्रशासक सुरेश भण्डारीले जानकारी दिएका छन ।

४ नम्बर ब्लकमा लामिछाने एक्लैलाई राखिएको छ ।भैरहवा कारागारमा ४ वटा ब्लक छन् । १ र २ नम्बर ब्लकमा अरु कैदी तथा थुनुवाहरू छन् । ३ नम्बर ब्लक भने महिला कैदी तथा थुनुवाका लागि हो । अहिले रविलाई राखिएको ब्लक भने ४ नम्बर हो । यो ब्लकमा १० जना कैदी बस्ने क्षमता छ ।

तर, अहिलेसम्म उक्त ब्लकमा अन्य कैदी तथा थुनुवा नरहेको कारागार प्रशासक भण्डारीले जानकारी दिएका छन । कारागार चलान हुँदै गर्दा रविले कुनै माग नगरेको र आफूलाई एक्लै राख्नसमेत नभनेको भण्डारीले जानकारी दिए । ‘उहाँको केही गुनासो र माग हामीलाई गर्नु भएको छैन’ भण्डारीले अनलाइनखबरसँग भने, ‘हामी आफ्नै स्वविवेकले उहाँलाई ४ नम्बर ब्लकमा एक्लै राखेका हौं ।’

शुक्रबार राति आफ्नै निवास काठमाण्डूबाट पक्राउ परेका लामिछाने पक्राउ परेका थिए । त्यसरात उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डूको हिरासतमा राखिएको थियो । लाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार पठाइएको थियो । गत शुक्रबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो ।

न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् । जिल्ला अदालत रुपन्देहीले उनलाई एक करोड धरौटीमा छाड्ने आदेश बदर भएको छ । उच्चको आदेशसँगै लामिछाने पक्राउ परेका थिए । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us