बार एसोसिएसनको निर्वाचनः झापा, इलाम र विराटनगरको पेटिकाबाट मतगणना सुरु

काठमाण्डु टुडे २०८१ चैत २४ गते १३:३६ मा प्रकाशित

काठमाण्डू, २५ चैत– नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार सम्पन्न निर्वाचनको मतगणना आज (सोमबार)बाट सुरु भएको छ । काठमाण्डूस्थित बारको केन्द्रीय कार्यालयमा झापा, इलाम र विराटनगरको मतपेटिकाबाट गणना सुरु भएको निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिएका छन ।

देशभर योग्य मतदाता ९ हजार ९९७ रहेकोमा ७ हजार ९९५ मत खसेको छ । ३ वर्षे कार्यकालको २५ सदस्यीय पदाधिकारीका लागि भएको निर्वाचनमा सत्ता पक्षीय नेकपा एमालेनिकट पेसागत कानुन व्यवसायी सङ्गठन (पीपीएलए) र नेपाली काङ्ग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) बीच गठबन्धन भएको छ ।

जसलाई राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीनिकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् । सत्ता पक्षीय लोकतान्त्रिक प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह नाम दिइएको उक्त समूहबाट डीएलएका प्रा.डा विजयप्रसाद मिश्र उम्मेदवार छन् भने एमालेनिकट पीपीएलएका केदार कोइराला महासचिवका उम्मेदवार छन् ।

यसैगरी प्रतिपक्षी समूह नेकपा माओवादी केन्द्र निकट गणतान्त्रिक कानुन व्यवसायी सङ्गठन (आरपीएलए) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट स्वतन्त्र कानुन व्यवसायी सङ्गठन र नेकपा एकीकृत समाजवादी निकट कानुन व्यवसायीहरूसँग मिलेर प्यानल बनाएको छ ।

जसमा आरपीएलएका रमनकुमार श्रेष्ठ अध्यक्षका उम्मेदवार छन् भने रास्वपा निकट कानुन व्यवसायी यज्ञमणि न्यौपाने महासचिवका उम्मेदवार छन् । जसलाई नेकपा एसलगायतका दल निकट कानुन व्यवसायीहरूले समर्थन गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us