
काठमाण्डू, २५ चैत– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिमेकी राष्ट्र भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन । आज (सोमबार) गणेशमान सिंह फाउण्डेसनले काठमाण्डूमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्याउनुभएको योगदान’ विषयक गोष्ठीमा बोल्दै कांग्रेस सभापति सभापति देउवाले यस्तो बताएका हुन् ।
उनले नेपालमा राजसंस्था पुनर्स्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला झुटो भएको पनि बताएका छन । सभापति देउवाले भने, ‘अहिले फेरि राजसंस्था पुनःस्थापनाको लागि भारतले उचाल्यो भन्ने हल्ला पनि छ । यहाँ आदित्यनाथको फोटो समेत छापियो, ‘तर मलाई के थाहा छ भने आदित्यजीले भारतमा जुन हाम्रो दूतावास छ त्यहाँ गएर मेरो कुनै हात छैन ।
नेपाली जनताले जे चाह्यो त्यही हुन्छ । म राजा ल्याउने पक्षमा छैन भनेर आफैंले भन्नुभएको छ ।’ देउवाले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले समेत नयाँ दिल्लीस्थित नेपाली दुतावासमा गएर आफू राजतन्त्र फर्काउने पक्षमा नरहेको स्पष्टीकरण दिइसकेको पनि बताएका छन । नेपालमा प्रजातन्त्र स्थापना गर्नमा समेत भारतीय पूर्वप्रधानमन्त्री चन्द्रशेखरको ठूलो योगदान रहेको देउवाको भनाइ छ ।
उनले भने, ‘उहाँले नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि धेरै ठूलो सहयोग गर्नुभएको छ, ठूलो योगदान छ । उबेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहँदैन भन्ने थियो,’ देउवाले भने, ‘चन्द्रशेखरजी आएपछि प्रजातन्त्रको खिलापमा छैन भारत भन्ने पुष्टि भयो ।
त्यसपछि त हामीले ठूलो आन्दोलन गरेर गणतन्त्र समेत ल्यायौं ।’ नेपालमा गणतन्त्र स्थापना भएको धेरै वर्ष नभएको भन्दै सभापति देउवाले राजनीतिक दलहरुले मिलेर यसलाई मजबुत बनाउन जरुरी रहेको बताएका छन ।