
काठमाण्डू, २६ चैत– पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक पटक फुट भएपछि अब कुनै हालतमा कम्युनिस्ट एकता हुँदैन भनेर सोच्न नहुने बताएका छन ।
आज (मंगलबार) प्रगतिशील लेखक संघको १३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित समितिलाई बधाइ तथा शुभकामना दिँदै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन । प्रचण्डले भने, ‘हिजो विभाजन भएकाले अब एकता असम्भव छ भन्नु चाहिँ माक्र्सवादी सोचाइ हुन सक्दैन । त्यो द्वन्द्वात्मक भौतिकवादी हुन सक्दैन ।’
यसअघि पटक पटक कम्युनिस्ट एकताका प्रयास भए पनि सोचेजस्तो हुन नसकेको भन्दै उनले त्यसबाट शिक्षा लिनुको विकल्प नभएको उनले बताएका छन । उनले भने, ‘कम्युनिस्ट एकताका प्रयास नभएका होइन । कहिले त्यो सफलजस्तो कहिले असफलजस्तो हुने गरेका छन् । पछिल्लो चरणमा देशका दुईवटा अलि प्रभावशाली कम्युनिस्ट पार्टीका बीचमा एकताका प्रयास भए ।
एकता भयो पनि । सबैले अनुमोदन पनि गरे, ‘तर दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । झण्डै दुई तिहाइको नजिक पार्टी पुग्दा पनि सरकारबाट सबैले प्रशंसा गर्ने भनौं वा इतिहासमा नाम रच्ने र पार्टीको एकतालाई बचाउन पनि सकेनौं । हामीले त्यसबाट शिक्षा लिनुको अर्को विकल्प छैन ।’
वामपन्थी एकताका लागि एक भएर अघि बढ्नुपर्ने भन्दै उनले एकताको झण्डा छाड्न नहुने बताएका छन । उनले भने, ‘वामपन्थी एकताको लागि निरन्तर लाग्नु नै छ । हामी विभाजित पनि भयौं । कहिलेकाहीँ एक अर्काप्रति आलोचना पनि गरेका छौं, ‘तर, हामीले एकताको झण्डा चाहिँ छाडेका छैनौं । अन्ततः फेरि वामपन्थी कम्युनिस्ट भन्नेहरू एक ठाउँमा आएर अघि बढ्नुपर्छ । एकताको झण्डा छाड्नु हुँदैन भन्ने कुरामा प्रष्ट छौं ।’