कुलमानलाई हटाउन प्रयोग गरेका वरिष्ठ ऊर्जाविज्ञ अधिकारी लाई नै हटाउने तयारीमा थिए उर्जामन्त्री खड्का

काठमाण्डु टुडे २०८१ चैत २६ गते १०:४८ मा प्रकाशित

कामठाण्डू, २७ चैत– नेपाल विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पद मुक्त गर्न उर्जा जलस्रोत तथा सिंचाईमन्त्री दिपक थापाले प्रयोग गरेका बरिष्ठ उर्जाविज्ञ सल्लाहकार प्रबल अधिबारीले नै आफ्नो पदबाट राजीनामा दिएका छन । नेपाल विद्युत् प्रधिकरणको कार्यकारी निर्देशकबाट कुलमानलाई पद मुक्त गरेसँगै उर्जामन्त्री खड्काले बरिष्ठ उर्जाविज्ञ अधिकारीलाई पनि हटाउने तयारी गरेका थिए । आफूलाई पनि हटाउने तयारी गरेपछि मन्त्री खड्काको प्रवृत्तिप्रति असन्तुष्ट अधिकारीले राजीनामा दिएका हुन् । १ वैशाखदेखि लागू हुने गरी राजीनामा दिएको उनले मंगलबार सामाजिक सञ्जालबाटै सार्वजनिक गरेका छन् ।

‘ऊर्जा मन्त्रालयको दैनिकीबाट मैले संघारमा आइपुग्दै गरेको नयाँ वर्षको सुरुवातसँगै विश्राम लिएको छु । होला, अर्को बिहानी पो कतै मेरै लागि प्रतीक्षारत छ कि ! यात्रा सायद त्यस्तै हुन्छ, एउटा चरणमा पुगेर विश्राम, अनि फेरि अर्को चरण सुरु !’ उनले लेखेका छन्, ‘पुराना बाटा कहिलेकाहीँ पट्यारलाग्दा हुन्छन्, फर्कने छुट पनि नहुन सक्छन्  ।

नयाँ वर्षमा नयाँ बाटो हिँड्नुप¥यो भनेर आफैँले पुरानो बाटोबाट मोडिन खोजेको हुँ । यसमा कसैसँग सिकायत पनि छैन, गुनासो पनि छैन । यो मैले नै तय गरेको बाटो हो ।’ यसबारे थप बुझ्न खोज्दा उनको मोबाइल स्विच्ड अफ थियो । स्रोतका अनुसार कुलमानलाई कमजोर बनाउन आफूलाई प्रयोग गरेका मन्त्री खड्काले कुलमान हटाएसँगै फरक व्यवहार देखाएपछि अधिकारीले राजीनामा दिएका हुन् । ‘कुलमानलाई हटाउने विषयमा मन्त्री खड्काले प्रबल अधिकारीलाई प्रयोग गरे ।

प्राधिकरणकै पूर्वउपकार्यकारी निर्देशकसमेत रहेका प्रबल र कुलमानको सम्बन्ध राम्रो थियो । कुलमानलाई कमजोर बनाउन मन्त्री खड्काले अधिकारीलाई राम्रैसँग प्रयोग गरे,’ स्रोतले भन्यो, ‘कुलमानलाई हटाएपछि उनको आवश्यकता देखिएन । मन्त्री खड्का उनलाई हटाउने योजनामा थिए । त्यो थाहा पाएपछि प्रबलले आफैँ राजीनामा दिए ।’

१३ भदौको मन्त्रिपरिषद्ले अधिकारीलाई विशिष्ट श्रेणीबराबरको वरीयतामा ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञ पदमा नियुक्ति गरेको थियो । उनी विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक पनि हुन् । अधिकारी प्राधिकरणको उपकार्यकारी निर्देशकबाट  १३ पुस ०८० मा अवकाश भएका थिए । प्राधिकरणमा तत्कालीन कार्यकारी निर्देशक कुलमानसँग नजिक भएर काम गरेका अधिकारी कांग्रेसनिकट थिए । पछि उनलाई ऊर्जामन्त्री खड्काले मन्त्रालयमा नियुक्ति गरेका थिए ।

प्राधिकरणमा कुलमानसँग नजिक भएर काम गरेका अधिकारीले मन्त्रालय पुगेपछि मन्त्री खड्काले कुलमानविरुद्ध उठाएका कदममा साथ दिए । कुलमानलाई कुन–कुन विषयमा कमजोर बनाउन सकिन्छ भनेर उनले नै मन्त्री खड्कालाई सल्लाह दिने र सोहीअनुसार मन्त्री खड्काले कुलमानलाई विवरण माग्ने तथा स्पष्टीकरण सोध्ने गरेको स्रोतको भनाइ छ ।

तर, पछिल्लो समय मन्त्री खड्काको गतिविधिमा अधिकारी सन्तुष्ट थिएनन् । खड्काले कुलमानलाई हटाएर उनलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाउने आशा पनि देखाएका थिए । तर, ११ चैतमा कुलमान हटाएर प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेपछि उनको असन्तुष्टि चुलिएको स्रोतले जानकारी दियो ।

अधिकारीले आगामी दिनमा ऊर्जा क्षेत्रमै सक्रिय हुने पनि बताए । ‘ऊर्जा प्रकृतिको अनुपम कृति हो । त्यही कृतिका खातिर मेरो लगाव र सिर्जनशीलता निरन्तर प्रवाहित हुने नै छ । अभ्यस्त भूमिकाभन्दा अलि फरक रूपरंगमा हुन सक्ला, अलि बान्की, बनावटमा भिन्न देखिएला,’ उनले लेखेका छन्, ‘तर, नेपालको ऊर्जा क्षेत्रमा राज्य र निजी क्षेत्र दुवै सहकार्यमा अघि बढ्नुपर्छ र मात्रै नतिजा आउँछ भन्ने मेरो निचोड ऊर्जा मन्त्रालयबाट बाहिरिँदै गर्दा पनि उत्तिकै प्रगाढ छ । म त्यसमा आफ्नो अनुभव र विज्ञताका साथ लागिरहनेछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us