काठमाण्डूमा लामो समयपछि वर्षा, प्रदूषणबाट राहत

काठमाण्डु टुडे २०८१ चैत २६ गते १५:५७ मा प्रकाशित

कामठाण्डू, २७ चैत– काठमाण्डू उपत्यकामा लामो समयपछि पानी परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा अहिले वर्षा जारी छ । अहिले काठमाण्डूका एयरपोर्ट, तीनकुने, फुल्चोकी, चन्द्रागिरि, भक्तपुरको सल्लाघारी, दुवाकोट लगायतका स्थानमा पानी परेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले जानकारी दिएका छन ।

वर्षा भएसँगै काठमाण्डू उपत्यकाको वायु प्रदूषण घट्ने अपेक्षा गरिएको छ भने वायु प्रदूषणबाट नागरिकले राहत पाउने भएका छन् । काठमाण्डू उपत्यकासहित झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायतका विभिन्न जिल्लामा पनि मेघगर्जन र चट्याङ सहित हल्का पानी परिरहेको उनले जानकारी दिए ।

मौसमविद् झाले भने, ‘अहिले खण्डित रूपमा पानी परिरहेको छ,’ ‘पानीको मात्रा आज राति र भोलि बिहानपख अझै बढी हुने सम्भावना छ ।’ पर्सि पनि पानी पर्ने सम्भावना छ । तर आज र भोलिको तुलनामा केही कमजोर हुनेछ ।

मौसमविद्‍का अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ । कर्णाली र सुदूरपश्चिमका जिल्लामा भने पानी पार्ने प्रणाली तुलनात्मक रूपमा कमजोर छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us