
काठमाण्डू, २८ चैत– पछिल्लो केहि दिन यता आन्दोलनरत नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच आज साँझ ५ बजे वार्ता हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले साँझ ५ बजेका लागि शिक्षक महासंघलाई वार्ताका लागि बोलाएको शिक्षा मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
‘अहिलेसम्म साँझ ५ बजेको समय भनिएको छ । शिक्षकहरू आउनु भएन वा केही कारणले सर्यो भने भन्न सकिन्न,’ मन्त्रालयका एक अधिकारिले भने । यसअघि पटक–पटक बोलाउँदा पनि महासंघ वार्तामा गएको थिएन ।
तर, आजको छलफलमा सहभागी हुने महासंघले जनाएको छ ।मन्त्रालयले शिक्षा विधेयकमा छलफल गर्न बोलाएको छ । हामीले जाने भनेका छौं,’ महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
३ बजेसम्म आन्दोलनकै कार्यक्रम भएकाले त्यसपछि मात्र छलफलमा जाने उनले जानकारी दिएकी छन । आजको छलफलमा शिक्षक महासंघले आफ्नो कुरा राख्ने बताइएको छ । महासंघले ऐन जारी गर्न तीन वटा विकल्प दिएको छ ।
संसद्को विशेष अधिवेशन बोलाउने, बर्खे अधिवेशन छिटो बोलाउने वा अध्यादेशबाट ऐन जारी गर्न महासंघले भनेको छ । महासंघले सहअध्यक्ष पराजुलीको संयोजकत्वमा वार्ता टोली बनाएको छ ।